नन्दप्रसाद–गंगामाया नबनुन् निर्मला पन्तका माता–पिता

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिँदै उनका मातापिता आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन्। निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन्। छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्।

आइतबार धर्ना बस्नुअघि उनीहरुले दबाबमूलक र्याली पनि निकालेका थिए। स्थानीय मदनचोकबाट शुरु भएको दबाव र्यालीमा नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी र विद्यार्थीहरु सहभागी थिए। नागरिक समाजका अगुवा नरबहादुर साउदले निर्मलाका हत्यारा सार्वजनिक नगरिएसम्म धर्ना जारी रहने बताए। उनले निर्मलाका वुवाआमा धर्नामा बस्ने र उनीहरुलाई आफूहरुको सहयोग रहने बताए।

निर्मलाका आमा दुर्गादेवीले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसेको भन्दै दुखेसो पोखिन्। यतिका दिनसम्म हत्यारा पत्ता लगाउन नसकेकाले धर्ना बस्न बाध्य भएको उनले बताइन्। उनले सरकारलाई हत्यारा सार्वजनिक गर्न गम्भीर बन्न आग्रह गरिन्।

१० साउनमा साथी रोशनी बमको घर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो। त्यसपछि यो घटनाले सिंगो देश तात्यो। दशैभरी निर्मलाका पक्षमा धेरै दबाबमूलक कार्यक्रमहरु भए। सबैले निर्मलाका दोषीले सजाय पाउनुपर्ने माग गरे। केहीलाई दोषी भन्दै पक्राउ पनि गरियो । शंकाका आधारमा धेरै मानिसहरुमाथि अनुसन्धान भयो। स्थानीय प्रहरीको अनुसन्धानमा प्रश्न उठ्यो र केन्द्रबाट अनुसन्धान टोली परिचालन गरियो।

घटनाको अनुसन्धानमा प्रहरीले लारपवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट बर्खास्तसमेत भए। अनुसन्धान टोलीले अहिले पनि अनुसन्धान गरिरहेको छ तर अझैसम्म हत्यारा पत्ता लागेको छैन। सन्तानलाई न्यायको माग गर्दै सुरु भएको यो धर्ना र मातापिताको कानुनतः जायज मागप्रति राज्यको उदासिनता देख्दा अहिले पुनः अर्को दुःखद् घटना नहोस् भन्ने कामना गर्नुपर्ने भएको छ।

किनकि निर्मलालाई न्याय दिलाउन उनका मातापिता जसरी लागिपरेका छन् उत्तिकै मात्रामा राज्य प्रशासनले यसमा चासो देखाएको छैन। शुरुका घटनामा त राज्य संयन्त्रका अख्तियारवालाहरु निर्मलाका हत्यारालाई कारवाही गर्न होइन बरु जोगाउन अघि सरेका देखिएका थिए। यस्तो अवस्थामा के निर्मलाले न्याय पाउलिन् ? प्रश्न निकै गम्भीर छ । यो गम्भीर प्रश्नले निकै गम्भीर परिणमको संकेत पनि गरिरहेको छ। भगवानले त्यस्तो नगरुन्, तर आजको दिन देखिरहँदा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीको झल्झली सम्झना आउँछ।

ती मातापिताको पनि कुनै दोष थिएन। उनीहरुले पनि आफ्नो सन्तानलाई न्याय दिलाउन चाहेका थिए। आफ्नो सन्तानले बिना कसुर किन मारिनु पर्यो? यसको जवाफ खोजेका थिए र उनको हत्या गर्नेलाई कानुनी कारवाहीको माग गरेका थिए। तर, उनीहरुको न्यायको लडाइका क्रममा बलेको आगोमा स्वार्थको रोटी सेक्ने काम भयो। सरकारमा हालिमुहाली गर्ने र उनीहरुका छोरा कृष्णप्रसादको हत्यामा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएकाहरुले यसलाई राजनीतिक रंग दिए।

अधिकारकर्मीका नाममा छिरेका एनजीओ/आइएनजीओकर्मीहरुले उनीहरुको न्यायको लडाइलाई मागीखाने भाँडो बनाए। अन्ततः त्यही स्वार्थको खेलमा नन्दप्रसादको ज्यान गयो। सायद नेपालका नन्दप्रसादको शव यस्तो शव हो जसले करिब ४ वर्षसम्म आर्यघाटमा खरानी बन्न पाएको छैन। हालसम्म उनको शव त्रिवि शिक्षण अस्पतालको फ्रिजमा छ।

अहिले पनि घटना र स्थान फरक छ तर मातापिताको चाहना एउटै हो– सन्तानका लागि न्याय। निर्मला पन्तका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग राख्दा अर्का बालकले प्रहरीको गोली खाएर देह त्यागिसकेका छन्। एक हत्याको न्याय माग्दा अर्को अवोधले ज्यान गुमाउनु परेको छ। राज्य न्यायका लागि ‘खुन’ मागिरहेको छ। यहाँ न्यायका लागि वली नदिएसम्म राज्य सक्रिय हुँदैन वा सुन्दैन। त्यसैले पनि निर्मलाका बाबुआमा धर्नाकै अवस्थामा पुगेका हुन्।

जुन घटनाले एक प्रहरी अधिकृतको जागिर गयो, सडकमा टायरमात्र बलेनन्, प्रहरीको गोलीले एक बालकको ज्यान लियो, त्यसै घटनाको न्यायका लागि पीडितले धर्ना बस्नुपर्ने कस्तो कहाली लाग्दो न्यायप्रणाली छ हाम्रो देशमा। धर्नाबाट न्याय नपाए, निर्मलाका बाबुआमा अनशनको अवस्थामा पुग्नेछन्। त्यतिले पनि नभए के होला? उत्तर सम्झिँदा नन्दप्रसादको दारी बढेको, ज्यान सुकेको र प्राणपखेरु उडेको तर, आँखामा न्यायको खोजी गरिरहेको शवको पनि याद आउँछ। निर्मला प्रकरणमा यो कालो इतिहास नदोहोरियोस कामनामात्र गर्न सकिन्छ