निर्मलाको पोष्टमार्टम रिपोर्टमै आशंका, दिल्लीराजका बावछोराले गरेको अडियो लिक (अडियो)

महेन्द्रनर, २० कात्तिक । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने आशंका आफन्तले गरेका छन् ।

निर्मलाको हत्याको मूल कारण कण्ठ (भोकल कर्ड) भाँचिएर नभई मेरुदण्डको माथिल्लो भाग टुट्दा भएको प्रमाण पनि प्राप्त भएको छ ।

निर्मलाका हात र अन्य अंग कस्सिएका छन् । शरीरका अंग कक्रक्क परेका छन् । तिनलाई मोड्न सकिने देखिन्न । निर्मलाको टाउको भने फनफनी घुम्छ । अर्थात लुलो रहेको एक प्रहरीले बताए ।

अनुसन्धानकर्ताहरूले पनि हेरेको हुनुपर्छ । निर्मलाको टाउको फनफनी घुम्ने दृश्यतर्फ अहिलेसम्म कसैले ध्यान दिएको छैन ।

निर्मलाको टाउको फनफनी घुम्नु आश्चर्यजनक हो किनभने निर्मलाको हत्या घाँटी थिचेर भएको भनिएको छ ।

सेवानिवृत्त प्रोफेसर तथा धनगढीमा बसेर सेवा प्रदान गरिरहेका सुदूरपश्चिम प्रदेशका वरिष्ठ चिकित्सक डा. सुभेषराज कायस्थका अनुसार भोकल कर्ड भाँचिएर मृत्यु भएको अवस्थामा घाँटी पनि कक्रक्क हुन्छ । स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग टुट्दा मात्रै घाँटी यसरी फनफनी घुम्छ ।

सर्भिकल क्वाइन भनिने स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग झुण्ड्याइएको अवस्थामा मात्रै भाँचिने डाक्टर कायस्थको भनाई छ ।

महाकाली अञ्चल अस्पतालमा गरिएको पोष्टमार्टमको रिपोर्टमा भोकल कर्ड भाँचिएर निर्मलाको मृत्यु भएको उल्लेख छ । पोष्टमार्टममा उल्लेखित यो कुरा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनमा पनि छ । त्यो प्रतिवेदनमा सर्भिकल क्वाइन भाँचिएको कुनै तथ्य उल्लेख छैन ।

शवको घाँटी फनफनी घुमिरेहको अवस्थामा पनि महाकाली अञ्चल अस्पतालका चिकित्सकले स्पाइनल कर्ड वा सर्भिकल क्वाइन भाँचिएको भनेर पोष्टमार्टम रिपोर्टमा उल्लेख गरेका छैनन् ।

उच्चस्तरीय छानविन समितिको प्रतिवेदन अनुसार पोष्टमार्टममा तीनजना डाक्टरहरूको संलग्नता रहेको थियो ।

निर्मला हत्याकाण्डपछि चर्केको आन्दोलनका क्रममा आन्दोलनकारीले निर्मलाको हत्या रोशनी बम र बबिता बम दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रुखमा झुण्ड्याएर गरिएको दावी गरेका थिए ।

घटनाको दिन अर्थात् १० साउन २०७५ को एकसाता नबित्दै अम्बाको त्यो रुख काटिएको थियो ।

यसैबीच, बर्खास्तमा परेका परेका दिल्लीराज विष्टका छोरा किरण विष्ट र उनका साथी शिशिरसँग कुरा गरेको टेलिफोन वार्ता लिक भएको छ । किरणले निर्मला हत्याका बारेमा आफ्ना साथीलाई मिलाएर कुरा गर्न भनेका छन् ।
https://youtu.be/RelfjUVcMwg